जंकफूड खानाले किशोर भए अन्धा र बहिरा

भक्तपुर न्यूज

१८ भदौ २०७६ ५:५७

जंकफूड खानाले किशोर भए अन्धा र बहिरा

काठमाडौं । जंकफूड अर्थात् बजारमा पाइने तयारी खानेकुरा कति खतरायुक्त हुन्छ भन्ने उदाहरण बेलायतका एक किशोर बनेका छन् । एक शोधका अनुसार १७ वर्षीय एक किशोरले एक दशकमा केवल चिप्स, क्रिप्स आदिमात्रै खान्थे ।

जंकफूडमात्रै खानाले उनी कुपोषणको शिकार भए । यही बानीले उनलाई अन्धो र बहिरो पनि बनायो । यस्तो गम्भीर समस्या बेलायतमा पहिलोपटक देखिएको बताइएको छ । युनिभर्सिटी हस्पिटल ब्रिस्टलको एनएचएस फाउन्डेसनका डेनाइज एटनले एक पत्रिकामा उक्त किशोरबारे उल्लेख गरेका छन् ।

किशोरकी आमाले ती किशोरले ७ वर्षको उमेरदेखि नै खानेकुरा छोडेको बताएकी छन् । किशोरले एक दशक अघिदेखि नै केवल जंकफूडमात्रै खाने गरेको उनकी आमाले भनिन् । ती किशोरले आफूलाई फलफूल र सागसब्जीको रूपरङ केही पनि मन नपर्ने बताए ।

किशोरको श्रवण शक्ति १४ वर्षको उमेरमा नै गएको उनकी आमाले बताइन् । त्यसपछि उनको आँखाको ज्योति पनि गुम्न थालेको उनको भनाइ छ । अब आफ्नो छोराको श्रवण शक्ति र आँखाको ज्योति फेरि फर्किन नसक्ने भन्दै उनले दुःख व्यक्त गरिन् ।

आमाले भनिन्, ‘मैले उनको टिफनको लागि भनेर स्वादिष्ट स्यान्डविच र स्याउ अथवा अरु कुनै फलफूल पठाइदिन्थें, तर छोराले केही पनि नखाई टिफिन बक्स जस्ताको त्यस्तै फिर्ता ल्याउँथ्यो ।’ किशोरका भाइबहिनीले भने कहिल्यै दाजुको सिको गरेर खान बन्द गरेनन् । त्यसैले उनीहरुको स्वास्थ्य भने हाल राम्रो भएको किशोरकी आमाले बताइन् । ‘पहिला त छोरो स्वस्थ र तन्दुरुस्त थियो, उसको तौललाई लिएर कहिल्यै चिन्ता भएन,’ उनले भनिन्, ‘जंकफुडले व्यक्तिको तौल बढाउँछ भन्ने सुनेकी थिएँ तर त्यस्तो कहिल्यै भएन, त्यसैले उनी स्वस्थ नै रहेको जस्तो हामीलाई लाग्यो ।’

चिकित्सकका अनुसार ती किशोर खानासँग सम्बन्धित एक रोगबाट पीडित छन् । त्यो रोगलाई आरफाइड एभोइडेन्ट्रेस्ट्रिक्टिभ फूड इन्टेक डिसअर्डर भनिन्छ । यो रोगबाट पीडित व्यक्तिले कुनै विशेष रङ, रूप, गन्ध, स्वादको खाना मन पराउँदैनन् । अथवा उनीहरु ती खानेकुरालाई कुनै निश्चित तापमानमा नै खाने गर्छन् । पोषणको कमीका कारण किशोरको आँखाको अप्टिक नर्भ नराम्ररी क्षतिग्रस्त भएको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *