पानीको पोका राखेर झिंगा भगाउने तरिका
काठमाडौँ ।धेरै जसोको घर तथा पसलहरुमा एउटा सानो पारदर्शी प्लाष्टिकमा पानी भरेर झुन्ड्याईएको हुन्छ । आखिर किन झुन्ड्याउने गरिन्छ त यसरी पारदर्शी प्लास्टिकको झोलामा पानी ?
धेरैलाई थाहा होला यसरी पारदर्शी प्लास्टिकमा पानी राखेर घर तथा पसलको झ्याल धोकामा झुनड्याउदा झिंगाहरु भाग्ने गर्छ । सुन्दा अचम्म लाग्ला तर, यो साँचो हो । यसरी पानी भएको पारदर्शी प्लास्टिक झुनड्याउदा झिंगा भाग्नुमा ठूलो कारण केही पनि हुने गर्दैन । झिंगा भाग्ने कारण रहस्यम खालको रहेको छ । झिंगाहरु माहुरी तथा अरीङ्गालसंग डराउने गर्छन् ।
प्लास्टिकको झोलाले प्रकाश पराबर्तन गर्ने तरिकाका कारण झिंगा भाग्ने गरेको अनुसन्धानहरुले समेत पत्ता लगाइसकेको छ । झिंगाको आँखा बिशेष प्रकारको हुन्छ । झिंगाको आँखामा ८००० भन्दा बढी लेन्सहरु हुने गर्छन् जसलाई बैज्ञानिक भाषामा कम्पाउन्ड आँखा भनिने गरिन्छ । यस्तो आँखामा दृश्य क्षमता हुदैन, यिनीहरुले एउटै कुरालाई २० ओटा भागमा देख्ने गर्छन् ।
पूरै देख्न नसक्ने भए पनि प्रकाशका कारण उनीहरुमा चाल थाहा पाउने शक्ति अधिक हुने गर्छ । यसकारण पनि झिंगालाई पछाडीबाट पनि समाउन सकिँदैन । पानीले भारिएको एउटा पारदर्शी झोलाले चारैतिरबाट प्रकाश पराबर्तन गर्न सक्छ । झोलाको प्रकाशले गर्दा झिंगाको आँखाले त्यो झोला नभइ माहुरी वा अरीङ्गालको गोला भएको महसुस गर्छ ।
माहुरी वा अरीङ्गालले झिंगालाई खाने हुँदा उनीहरुमा आउन लागेको खतरा सोचेर आफुलाई बचाउनका लागि झिंगाहरु उक्त ठाउँबाट टाढै बस्न रुचाउँछन् । पारदर्शी झोला तथा सफा पानीले मात्र झिंगा भाग्ने हुदा पारदर्शी झोलाको पानी तथा समय समयमा झोला समेत परिवर्तन गरिरहनु पर्छ ।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार