गौतमबुद्ध विमानस्थलको निर्माण सम्पन्न गर्ने समयावधि थप

भक्तपुर न्यूज

३० असार २०७६ ७:५३

गौतमबुद्ध विमानस्थलको निर्माण सम्पन्न गर्ने समयावधि थप

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर अर्थात पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आयोजना निर्माणको काम करिब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् । निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उनले बताए ।

विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । विमानस्थलको तीन हजार ६० मिटर लामो धावनमार्ग निर्माणको मुख्य काम सकिएको छ ।

सन् २०१७ को डिसेम्बरमा सक्ने लक्ष्यसहित सुरु भएको विमानस्थलको निर्माण यसअघि १८ जुन २०१८ मा सक्ने लक्ष्य गरिएको थियो । पछिल्लो पटक २८ जुन २०१९ भित्र निर्माण सक्ने योजना थियो ।

उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ । सन् २०१४ को डिसेम्बर ३१ बाट निर्माण सुरु गरिएको गौतमबुद्ध विमानस्थलको ६ अर्ब २२ करोड ५१ लाख लगानी रहेको छ ।

प्रकाशित मितिः २०७६ असार ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय