सर्वोच्चले लोकसेवाको विज्ञापनबारे आज टुंगो लगाउँदै
काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा आज बुधबार एकै साथ सुनुवाई गर्दैछ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । सोही अनुसार ती चारवटै निवेदनको सुनुवाई बुधबारका लागि तय भएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र लोकसेवा आयोगलाई विपक्षी बनाई महोत्तरीका अधिवक्ता विकास ठाकुर र सर्लाहीका जगदेव चौधरीले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए । दुवैजनाले लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको माग गरेका छन् ।
त्यसैगरी अधिवक्ता राजाराम घिमिरेले लोकसेवाले खोलेको विज्ञापन रद्द गर्न नहुने माग राख्दै आइतबार रिट निवेदन दर्ता गरेका थिए । यस्तै, आयोगको विज्ञापन रोक्न माग गर्दै सोमवार सर्वोच्च अदालतमा देशभरका स्थानीय तहमा कार्यरत अस्थायी करारमा रहेका २ सय १२ जनाले रिट दर्ता गरेका हुन् । चारवटै निवेदनको बुधबार एकैसाथ सुनुवाइ भएपछि आयोगको विज्ञापनका विषयमा निर्णय हुनेछ ।
आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।
प्रकाशित मितिः २०७६ असार ४ बुधबार