नेपाली बजारमा भारतको गुणस्तरहिन खानेतेल
बाँके । नेपाली बजारमा गैरकानूनीरूपमा भारतीय खानेतेल बिक्री हुन थालेपछि गत वर्षदेखि प्रतिबन्धित छ। तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करले ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेल नेपाल भित्र्याइरहेका खुलेको छ । भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल खुलेआम नेपाल भित्रिरहेका हुन् । यी तेलहरू भारतमा गुणस्तरहिन मानिएका छन् ।
भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती रुपैडिहाका नागरिक नेपाली खानेतेलको प्रयोग गर्छन् । तर भारतीय त्यस्तो तेल भने दैनिक करीब दुई हजार लिटरसम्मको परिमाणमा अवैधरूपमा नेपाल भित्रिरहेको नेपालगञ्जका एक किराना व्यवसायी प्रदीप बर्माले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल आयात भइरहेको भन्ने सुन्नमा आएकाले अनुगमन गरेर त्यसमा पूर्णरूपमा रोक लगाउने बताएका छन् ।
प्रकाशित मितिः २०७६ जेठ १२, आइतबार
