अदुवाका छन् अनेकौँ फाइदाहरू
काठमाडौँ । सजिलै बजारमा उपलब्ध हुने र हामीले भान्सामा मसलाका रुपमा राख्ने अदुवालाई आयुर्वेदिक चिकित्सा पद्धतिमा महाऔषधिको नामले चिनिने गरिन्छ । यो जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी तथा लाभदायी पनि हुने गर्छ ।
अदुवामा जिंगेरोल नामक तत्व हुन्छ, जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले हाम्रो शरीरमा विभिन्न खाले फाइदा पुर्यााउँने विश्वास गरिएको छ । अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । सुकाएको अदुवालाई सुठो भनिन्छ ।
अदुवाको प्रयोगले गर्दा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन र हामीलाई तागत दिने गर्छ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक जस्ता तत्व पाइन्छ जसले रक्त प्रवाहलाई नियमित र सन्तुलित बनाउँनुका साथै रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ ।
यसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गरि हामीलाई मुटुरोगको जोखिमबाट बचाउने गर्छ । बिहानपख वाकवाकी लाग्ने तथा गर्भवती महिलालाई बिहानपख आउने वाकवाकीको समस्या भएकाहरुले अदुवाको सुठो चपाउँनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ ।
चिसो, रुघाखोकी तथा घाटी दुख्दाको बेलामा अदुवाको टुक्रालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाटीबाट हुने दुखाइ धेरै कम भएर खोकीमा फाइदा गर्छ । अपच भएको बेलामा अदुवाको ससाना टुक्रालाई बिरेनूनसंग मिसाएर खानाले अपचको समस्या कम हुन्छ र अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।
नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ, बाथरोगी तथा जोर्नी दुख्ने विस्तारै कम गर्छ । अदुवामा एक प्रकारको गन्धरहित तेल पाइने हुदा अदुवा चपाएर राख्दा मुखबाट कुनै गन्ध आउँदैन । साथै यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ ।
प्रकाशित मितिः २०७६ वैशाख १४ शनिबार