त्रिभुवन विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई दिए
काठमाडौं । १८ औं सार्क सम्मेलन आउने भिआइपीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो।
भिआइपीका लागि पाँच हजार ९८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो। तर, सेनाले सात हजार २५ वर्गफिट खरिद गरेको विवरण पेश गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसबाट राज्यलाई चार लाख रुपैयाँ व्ययभार परेको थियो। रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखा परीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो। सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख रुपैयाँ बजेट दिएको थियो।
त्यसक्रममा सेनाको संभाररथी विभागले इचुमति इन्टरनेसनल प्रालिसँग विभिन्न सामान द्रुतमार्गबाट खरिद गर्न सम्झौता गर्यो। तर, सप्लायर्स कम्पनीले सार्क सुरक्षाका लागि अनिवार्य भनेकोमध्ये कैयौं सम्मेलनपछि मात्र उपलब्ध गरायो ।
यस्तै निहिल ट्रडिङ कम्पनीसँग एक करोड ४४ लाख बराबरको उपकरण खरिदको सम्झौता गरेको थियो। तर, ती उपकरण सार्क सम्मेलन सकिएपछि मात्र प्राप्त भएका थिए ।
प्रकाशित मितिः २०७५ माघ २९ मंगलबार
