काठमाडौं । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्दैछ। तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ।
एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो। तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो।
नेपालले टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ। टि–२० अन्तर्राष्ट्रिय सिरिजको सबै खेल नेपाली समयानुसार २ः४५ बजे हुनेछ। सम्पूर्ण खेल दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ। जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो।
राम्रो फर्ममा रहेको नेपाली टोलीले टि–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ। जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीकाटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन्।
सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो। पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ।
टि–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ। सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा आयोजना गएको टि–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स ९युएई० सँग २० रनले पराजित भएको थियो।
त्यस्तै सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टि–२० विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई छ विकेटले विजयी भएको थियो। सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा पाँच विकेटले पराजित गरेको थियो।
प्रकाशित मितिः २०७५ माघ १७ बिहिबार
Comments