काठमाडौँ । जारी इंग्लिस प्रिमियर लिगमा साबिकको विजेता म्यानचेष्टर सिटीले जित हात पारेको छ । २१ औं चरणको अन्तिम खेलअन्तर्गत् वुल्भुससँग भिडेको सिटीले ३–० को सहज जित निकालेको हो ।
सिटीको घरेलु मैदानमा भएको सो खेलमा १० खेलाडीमा सीमित पाहुना टोलीविरुद्ध सहज जित निकाल्दा ग्राबियल जिससले दुई गोल गरे भने एक गोल आत्मघाती उपहारमा पाएको थियो ।
खेलको दशौं मिनेटदेखि नै सिटीले अग्रता बनाएको थियो । उसका लागि जिससले गोल गर्दै सिटीलाई १–० ले अगाडि बढाए । यस्तै खेलको १९ औ मिनेटमा विली बोली रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पाहुना टोली वल्भ्स १० खेलाडीमा सीमित बनेको थियो ।
त्यसपछि जिससले ३९ औ मिनेटमा पेनाल्टीमा दोस्रो गोल गर्दै पहिलो हाफ घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको सिटीले एक गोल उपहार स्वरुप पायो । खेलको ७८ औ मिनेटमा वल्भ्सका कोनोर कोएडीले आत्मघाती गोल गरेपछि सिटीले ३–० को सहज जित निकाल्यो ।
यस जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाउन सफल भएको छ । २२ खेलमध्ये १७ खेलमा जित, दुई खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै सिटीले ५३ अंक जोडेको छ ।
सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ४ अंकले पछाडी परेको छ । लिभरपुलले समान खेलबाट १८ खेलमा जित, तीन खेलमा बराबरी र एक खेलमा पराजय भोग्दै ५७ अंक बनाएको छ । यस्तै गए रातिको खेलमा सिटीसँग पराजित भएको वुल्भस २९ अंकसहित तालिकाको ११ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ माघ १ मंगलबार
Comments