स्वर्गीय रमेश विकलको नाममा भवन निर्माण
काठमाडौं । नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको नाममा स्थापित प्रतिष्ठानको भवन निर्माण सम्पन्न भएको छ। प्रतिष्ठान भवनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री रविन्द्र अधिकारीले यही शनिवार गर्ने कार्यक्रम रहेको छ। भवन राजधानीको गोकर्णेश्वर नगरपालिका–९ स्थित विकलको पुख्र्यौली थाक थलोमा निर्माण गरिएको छ।
भवन निर्माणसहित आन्तरिक साजसज्जाको काममा गरी कुल १ करोड ४८ लाख ५० हजार रुपैयाँ खर्च भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानलाई संस्कृति मन्त्रालयबाट दुर्ई आर्थिक वर्षमा गरी ७० लाख, योजना आयोगबाट ५ लाख, काठमाडौं क्षेत्र नम्बर ३ क्षेत्र विकास कार्यक्रम अन्तर्गत ४० लाख रुपैयाँ प्राप्त भएको छ।
प्रतिष्ठानका अनुसार गोकर्णेश्वर नगरपालिकाबाट १८ लाख, दाताहरु प्रभात लामा र गोपाल दंगालबाट एकमुष्ट १५ लाख तथा प्रतिष्ठानका महासचिव विजय चालिसेबाट पनि ५० हजार प्राप्त भएको छ। आगामी शनिबार नै रमेश विकल साहित्य प्रतिष्ठानको एघारौं स्मृति दिवस तथा १२ औँ साधारण सभा तथा विकलका नाममा स्थापित विभिन्न पुरस्कारहरु वितरण गरिने प्रतिष्ठानका महासचिव समेत रहेका विकलका छोरा विजय चालिसेले जानकारी दिए।
कथा र उपन्यासमार्फत नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिएका विकलको चित्रकला र संगितमा पनि विशेष रुची थियो। अविरल बग्दछ इन्द्रावती, नयाँ सडकको गीत, आज फेरि तन्ना फेरिन्छ जस्ता कालजयी रचनाका श्रष्टा विकल लेखनसँगै सम्पादन कलामा पनि सिद्धहस्त प्रतिभा थिए।
प्रकाशित मितिः २०७५ पुष ११ बुधबार
