काठमाडौं । सिजनको पाँचौं हप्ताको खेलमा आफ्नो घरमा पाहुना टोलीसँग बराबरीमा रोकिएपछि बार्सिलोनाका कप्तान लिओनल मेस्सीले बार्सिलोनाले सधैं जित्न नसक्ने बताएका छन् । गत राति बार्सिलोनालाई जिरोनाले उसकै घरमा २–२ को बराबीमा रोकेको थियो । यो बराबरीसँगै बार्सिलोनाको यो सिजनको विजयी यात्रामा पनि पूर्णविराम लागेको थियो ।
मेस्सीले ला लिगामा बलिया टोली रहेको बताउँदै सधैं एकनसाको नतिजा नआउने बताए । ‘जिरोनाविरुद्ध हामीले उच्चस्तरको प्रदर्शन गर्न सकेनौं, यो साँचो हो,’ पोस्ट म्याच कन्फ्रेन्समा मेस्सीले भने, ‘तर, हामी जितको यात्राबाट रोकियौं, यो हामीले चाहेका थिएनौं ।’
मेस्सीले बार्सिलोना सधैं जितिराख्न सक्ने टोली नभएको पनि बताए । ‘बार्सिलोनाले सधैं जित्न सक्दैन,’ उनले भने, ‘नतिजा कहिलेकाहीं फरक पनि आउन सक्छ ।’ मेस्सीले बार्सिलोना अझै पनि अपराजित रहेको बताउँदै यसलाई कायम राख्न प्रयास गर्ने बताए ।
जिरोनासँग बराबरीपछि बार्सिलोना १३ अंकसहित लिगको शीर्ष स्थानमा चढेको छ । उसको दोस्रो स्थानका रियल मड्रिडसँग समान १३ अंक छ । तर, बार्सिलोना गोलअन्तरमा अघि रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments