महिनावारीमा कतिपटक प्याड परिवर्तन गर्ने
भक्तपुर । महिनावारी हरेक महिलामा देखिने एउटा समस्या हो । यस समयमा महिलाहरुले आफ्नो सरसफाइमा कुनै पनि प्रकारको लापरवाही गर्न हुदैन । यस समयमा सरसफाइमा ध्यान नदिंदा विभिन्न खालका संक्रमण हुन सक्छन् जसले गर्दा स्वास्थ्यमा झन् ठुलो समस्या आउन सक्छ । यस समयमा प्रयोग हुने प्याड र लुगा परिवर्तन गरिरहनु पर्छ । महिनावारीमा कतिपटक प्याड परिवर्तन गर्ने कुरा धेरै महिलाहरुलाई थाहा हुदैन ।
कतिपटक परिवर्तन गर्नुपर्दछ
स्वास्थ्य विशेषज्ञहरुको भनाइ अनुसार महिनावारीका बेला प्रत्येक ४ घण्टामा प्याड बदल्नुपर्दछ । यदि तपाई घरेलु कपडाको टुक्रा प्रयोग गर्नुहुन्छ भने त झन प्रत्येक २–२ घण्टामा बदल्नुपर्दछ । तर यो नियम सबैका लागि समान ढङगले लागू हुन्छ भन्ने छैन् । प्याडको प्रकृति, रगतको मात्रा हेरेर पनि प्याड परिवर्तन गर्ने समय निर्धारण हुने गर्दछ ।
यी कुरामा ध्यान दिउँ
महिलाहरु आवश्यकता अनुसार प्याड परिवर्तन गर्ने गर्छन् तर धेरै समयसम्म एउतै प्याड लगाउनु हान्कारक हुन्छ । धेरै रगत बगेको बेला मात्र नभएर रगत बग्ने क्रम कम नभएको समयमा पनि प्याड परिवर्तन गर्नु जरुरी छ । लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहेमा पिसाब संक्रमण लगायतका संक्रमण हुने जोखिम धेरै हुने गर्दछ ।
पटक–पटक प्याड परिर्वतन गरिरहनुहोस्
हुन सक्छ महिनावारी भएको २–३ दिनदेखि तपाइमा रगत निष्काशनको फ्लो कम हुन सक्छ । रगत बग्ने क्रम घट्ने बित्तिकै प्याड लामो समयसम्म प्रयोग गरिरहनु गलत हो,परिवर्तन गरिरहनुपर्छ ।
एक सयमा एउटामात्र
कोही कोहीले धेरै रगत बगेको भन्दै एकैपटकमा २ वटा प्याड वा कपडा प्रयोग गर्ने गरेको पनि भेटिन्छ तर यो स्वास्थ्यको हिसाबले निकै गलत हो । धेरै रगत बगेको बेला यसले मद्दत गरेपनि स्वास्थ्यका लागि यो उपयोगी तरिका होइन । २ वटा प्याड प्रयोग गर्दा परिवर्तन गर्ने समय लम्बिने भएका कारण बरु एउटै प्याड प्रयोग गर्ने र छिटो–छिटो परिर्वतन गर्ने गर्नुपर्दछ ।
प्रकाशित मितिः २०७५ भदौ २८ बिहिबार