काठमाडौं । आफ्ना पूर्वस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेयता स्टार खेलाडीको खोजीमा रहेको रियल मड्रिडले अझै पनि भरपर्दो विकल्प भेटेको छैन । तर, तत्कालाई रोनाल्डोको अभाव टार्ने गरी रियलले डोमिनिक रिपब्लिकका स्ट्राइकर मारियानोलाई क्लबमा फर्काएको छ ।
फ्रेन्च क्लब लायन गएको १४ महिनापछि रियलले मारियानोलाई ३३ मिलियन युरोमा पुनः मड्रिड बोलाएको हो । खबरअनुसार रियल मड्रिडले पुनः किन्ने विकल्प खुला गरेपछि मारियानोले रियलसँग आगामी ५ वर्षसम्मका लागि सम्झौता गरेका छन् ।
मारियानो रियलको एकेडेमीबाट आएका खेलाडी हुन् । उनले रियलको ‘सी’, ‘बी’ हुँदै ‘ए’ टिमबाट खेलेका थिए । सन् २०१७ को जुनमा रियलले उनलाई लोनमा बेचेको थियो । उनले लायनमा ४३ खेल खेल्दै २० गोल आफ्नो नाममा लेखाएका छन् । रियलले मारियानोलाई तत्कालका लागि रोनाल्डोको अभाव टार्न प्रयोग गर्ने बताइएको छ । रियलले रोनाल्डोलाई १ सय १२ मिलियन युरोमा युभेन्टसलाई बेचेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १४ विहबार
Comments