काठमाडौँ, १७ असार । समुह ‘डि’को विजेता क्रोसियाले आज विश्वकपको अन्तिम १६ को खेलमा ग्रुप सीको उपविजेता डेनमार्कसँग प्रतिश्प्रर्धा गर्दैछ । नेपाली समय अनुसार यो खेल १२ः४५ मा हुनेछ । डेनमार्क र क्रोसियाबीच छैटौपटक आमनेसामने हुँदैछ । दुवै देशले दुई पटक खेल जितेका छन् दुईवटा खेल बराबरीमा सकिएको थियो । सन् १९९६ को युरो कपमा क्रोसियाले डेनमार्कलाई ३,० गोलले पराजित गरेको थियो । क्रोसियाका लागि डेभोर सुकरले दुई गोल गरेका थिए । त्यस्तै बोभानले एक गोल गरेका थिए ।
सन् १९९८ मा भएको विश्वकपमा क्रोसिया नकआउट स्टेजमा पुगेको थियो । त्यस वर्ष क्रोसिया तेस्रो भएको थियो । क्रोसियाले यस विश्वकपको लिग चरणका सबै खेलमा जित हात पारेको थियो । त्यस्तै डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल खेलेको थियो । तीन खेलमा क्रोसियाले एक गोलमात्र खाएको छ । त्यो पनि पेनाल्टी मार्फत आइसल्याण्डले क्रोसियाविरुद्ध गोल गरेको थियो ।
क्रोसियाले गरेको सात गोलमध्ये ६ गोल दोस्रो हाफमा भएका छन् । फुटबल विश्लेषकहरुका अनुसार यस खेलमा क्रोसियाले जित हात पार्ने सम्भावना बढी रहेको छ । सबै खेलाडीहरु उच्च फर्ममा रहेका छन् । डिफेन्स लाइन पनि उत्तिकै बलियो रहेको छ । डेनमार्कको समस्या भनेको गतिलो फिनिसिङ नहुनु हो । क्रोसियाविरुद्ध गोल गर्न असमर्थ भए डेनमार्कका लागि विश्वकप यात्रा कठिन हुने उनीहरुको दाबी छ ।
Comments