८ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका छन् । हिजो भएको खेलमा अष्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
डेनमार्क र अष्ट्रेलियाले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । डेनमार्कले लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेको थियो ।
खेलको सातौं मिनेटमा नै क्रिष्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा म्याथ्यु लेकीको प्रहार डेनमार्कका युसुफ पउलसेनले डिबक्सभित्र हातले छोएपछि भिडियो एसिस्टेन्ट रेफ्रीले अष्ट्रेलियालाई पेनाल्टी दिएको थियो । त्यो पेनाल्टी मिले जेडिनाकले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।
डेनमार्कको २ खेलमध्ये १ मा जित र एक खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । अष्ट्रेलियाको भने २ खेलमध्ये १ खेलमा हार र १ खेलमा बराबरी खेल्दै १ अंक भएको छ ।
Comments