काठमाडौं, ५ बैशाख । सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
आज यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । सोअघि विभिन्न खालका दबाबमूलक आन्दोलनका कार्यक्रम तय गरिएको छ ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार बैशाख ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने, बैशाख ७ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बैशाख ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधनहरुमा कालो झण्डा राख्ने, बैशाख ९ गते यातायातसँग सम्बन्धित प्रमुख दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने तय भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
यस्तै बैशाख १० र ११ गते ७ ओटै प्रदेशमा कोणसभा गर्ने, बैशाख १२ र १३ गते गाडी गुडाउने समय फ्रि छाड्ने, बैशाख १४ र १५ गते सातै प्रदेशका सदरमुकाम र काठमाडौं उपत्यकामा सबै साधनहरु क्यु छाड्ने, बैशाख १६ गते यातायात कार्यालयहरु घेराउ गर्ने कार्यक्रम तय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष तथा आन्दोलन संयोजन समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।
यस्तै बैशाख १६ गते सबै यातायात कार्यालय घेराउ गर्ने, बैशाख २१ गते गाडीलाई ग्यारेजमा थन्क्याउने, २२ गते संघर्षसमितिको बैठक बसेर थप निर्णय लिने तथा बैशाख २७ गतेबाट अर्को जानकारी नआएसम्म देशभरका सार्वजनिक सवारीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याउने निर्णय भएको कर्माचार्यले जानकारी दिए ।
Comments