एभरेस्ट भक्तपुर स्कुलको ११ औं ओपन डे ( फोटो फिचर)
भक्तपुर, २४ फागुन । एभरेस्ट इंगलिस स्कुल मिवाछेंको भगीनि विद्यालय ‘एभरेस्ट भक्तपुर स्कुल’ले कक्षा ३ सम्मका विद्यार्थीहरुले कक्षामा सिकेका र उनीहरुमा अन्तर्नीहित प्रतिभा उजागर गर्ने कार्यक्रम ११ औं वार्षिक ओपन डे आयोजना गर्यो ।
वरिष्ठ वाल साहित्यकार शान्तदास मानन्धरले कार्यक्रमको उद्घाटन गर्दै साना नानीहरुलाई विद्यामात्रै नभई असल संस्कार सिकाउने काम विद्यालयले गर्दै आएकोमा खुसी व्यक्त गरे ।
विद्यालयका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यालयले एकवर्षमा गरेको विभिन्न कृयाकलापको बारेमा प्रकाश पार्दै विद्यालयले साना नानीहरुलाई सु–संस्कारयुक्त बनाउन विद्यालयमै विभिन्न समयमा आयोजना गरिएको परम्परागत नेपाली चाडपर्व, धर्म, संस्कृति, परम्परा र रितिरिवाजमा सहभागी गराउँदै आएकोे बताए ।
उनले व्यवहारिक शिक्षामा जोड दिनुको साथै वालवालिकाकोे शारिरीक क्षमताले भ्याए अनुसारको खेलकूदमा सहभागी बनाउँदै आएको बताए । विद्यार्थीलाई पौडी, पाकशिक्षा, बजार तथा सांस्कृतिक मठमन्दीरको भ्रमणदेखि खेर जाने वस्तुलाई सानैदेखि सदुपयोग गर्न सिकाउने काम पनि गर्दै आएको उनले बताए ।
११ औं ओपन डेमा विद्यालयका ४ सय २२ विद्यार्थीले आफूले विद्यालयमा सिकेका नृत्य, गायन, नाटक, जिम्नास्टिक लगायतका आफूमा रहेका प्रतिभा अभिभावक सामु प्रस्तुत गरेका थिए ।