डोटीका अस्पताल १६ दिनदेखि चिकित्सकविहीन
डोटी, २३ फागुन । जिल्ला अस्पताल डोटीलगायतका स्वास्थ्य संस्थाका चिकित्सकहरूले १६ दिनदेखि काम ठप्प पारेका छन् । जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघले सुरक्षाको कारण देखाउँदै जिल्ला छोडेर काठमाडौँ आउन निर्देशन दिएको थियो । जिल्ला छोडेर गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिरी गराइरहेको छ ।
डोटीमा उपचारका लागि आउने सयौं सेवाग्राही उपचार नपाएर फर्किने गरेका छन् । डाक्टरहरूको माग न्यायोचित भए पनि लामो समयसम्म उपचार कार्यमा नफर्केको प्रति भने जिल्लामा असन्तुष्टी बढ्दै गएको छ । जिल्लामा सर्वपक्षीय बैठकले काममा फर्कन डाक्टरहरूसँग अनुरोध गरे पनि चिकित्सकहरू भने असुरक्षाको कारण देखाउँदै जिल्लामा फर्कन मानेका छैनन् ।
“डाक्टरहरूको काम गर्ने मनसाय नभएको हो कि रु सुरक्षा नै नभएको हो भन्ने कुरा महत्वपूर्ण छ,” प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, “डोटीमा असुरक्षा भयो भनेर डाक्टरहरू काठमाडौं झिकाइए । काठमाडौमै त्यस्ता कयौं घटना भइरहेका छन, त्यहाँका असुरक्षित डाक्टरलाई चिकित्सक संघले कुन ठाउँमा लगेर सुरक्षा दिइरहेको छ रु” उनले प्रतिप्रश्न गरे ।
स्थानीय प्रशासनले दोषीलाई हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेकोले मन्त्रालयले पनि कर्मचारीहरूको मात्रै कुरा नसुनेर जिल्लाका बिरामीको उपचार सेवामा पनि ध्यान दिनुपर्ने प्रजिअ खत्रीले बताए ।