काभ्रेको कुन्ताबेसीमा इवामुराको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर, १५ फागुन । काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित कुन्ताबेसीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।
डा. इवामुरा मेमोरियल अस्पताल भक्तपुरको आयोजना र रोटरी क्लब अफ भक्तपुर तथा बी बी पि परिवार काभ्रे सहयोगको आयोजनमा शिविर सम्पन्न भएको तथा स्वास्थ्य शिविरमा करिब १ सय जनालाई सेवा प्रदान गरिएको डा. इवामुरा मेमोरियल अस्पताल भक्तपुरका व्यवस्थापक रञ्जित मारिखुले भक्तपुरन्युज डटकमलाई जानकारी दिए ।
शिविरमा अस्पताल भक्तपुरका चिकित्सकहरुबाट जनरल फिजिसियन र दन्त सेवा प्रदान गरिएको थिए । गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा धेरै बिरामीलाई आफ्नो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नका लागि निःशुल्क स्वास्थ्य शिविर निकै प्रभावकारी भएको सेवा लिन आएकी बिरामी रामकुमारी श्रेष्ठले बताईन् ।
उनले भनिन्, यसरी गाउँ गाउँमा आएर सेवा दिँदा गाउँका नागरिकले समेत सहज स्वास्थ्य उपाचारको सुबिधा लिन पाएका छन ।
भक्तपुरबाट गएर सञ्चालन गरिएको उक्त शिबिरमा औषधिको ब्यवस्थापनमा भक्तपुर रोटरी क्लबका अध्यक्ष केशव दिवाकर तथा बीबीपी परिवार संस्थाका अध्यक्ष भरत विष्टले आर्थिक सहयोग गरेको मारिखुले बताए ।
उक्त शिविरका सफलता र विरामीको आवश्यकतालाई महसुस गरेका यहि फागुन २६ गते सिन्धुपाल्चोकको छनौटेमा र २७ गते सिन्धुपाल्चोकको मुलखरामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । उक्त शिविरमा रोटरी क्लव अफ भक्तपुर, बीबीपी परिवार तथा डा. इवामुरा अस्पताल भक्तपुरले एक हजार भन्दा बढी विरामीको उपचार गर्ने लक्ष्य लिएको अस्पतालका व्यवस्थापक मारिखुले भक्तपुरन्युज डटकमलाई जानकारी दिए ।