सञ्चारकर्मी छुकांको बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशित
भक्तपुर । सञ्चारकर्मी हरिसुन्दर छुकांको बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ । पत्रकारिताका अलावा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आएका छुकांको पहिलो कविता सङ्ग्रहको रुपमा उक्त सङ्ग्रह प्रकाशित भएको हो । यसअघि उनको गजल सङ्ग्रह ‘हस्तााक्षरभित्रका अक्षरहरु…’ प्रकाशन भईसकेको छ ।
सञ्चारकर्मी छुकांको उक्त सङ्ग्रहलाई युथ सोसाइटी फर सोसियल वेलफेयर (वाईएसएसडब्ल्यू) भक्तपुरले प्रकाशनमा ल्याएको हो ।
उनका कविताहरुमा घुम्न जाऔं न लौ, क–कलम, जानी राखे राम्रो, हेर मिनी, चिनारी, घर, चरीको गीत, फिरफिर पुतली, भिटामिनका मूल, असल बन्छु म, चिरीचिरी चरी, पढ्नु धेरै छ, सातबारको काम, चित्र बनाएँ, अलक बम, अलक बम, मज्जा, दाइ र भाइ, हाछ्युँ, हाछ्युँ, जुलुस, कख पढ, गुरु, कमिला, शनिबार, सानो बावु, आकाशमा के छ ?,बादल, कस्तो छ ?, म को हुँ ?, मलाई मनपर्छ, देश बने तिमी बन्छौ, जन्मदिन, आमा, हामी पढ्ने स्कुलमा, चित्रजस्तो देश, चिनी गुलियो, गीत गाउँदा, त्यो निलो आकाशमा, माछा पोखरीमा र को ठूलोलगायतका शिर्षक रहेका छन् । बालबालिकाको दैनिकीका क्रममा देखेका, सुनेका, भोगेका, पढेका कुरालाई छुकांका कविताहरुले कविताको विषय बनाएका छन् ।
बालबालिकाहरुले मन पराउने विषयलाई कविताको विषय बनाएर लेखिएका कविताहरु बालसुलभ पनि छन । ‘बालबालिकाहरुलाई साहित्यको एक विधा कविता पढ्न, लेख्न उत्साहित गर्न सकिन्छ कि भन्ने उद्देश्यले सङ्ग्रह बनाएको हुँ, यसमा सङ्ग्रहित कविताहरु विद्यार्थीहरुका लागि काम लाग्दा छन्, शिक्षकहरुलाई शिक्षण क्रियाकलापमा सहयोगी बन्न सक्छन् ।’ लेखक छुकांले भने ।
कक्षा ३ देखि कक्षा १० पढिरहेका विद्यार्थी र ७ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी लेखिएका कवि छुकांका कविताहरुको सङ्ग्रहमा ४० थान कविता सङ्ग्रहित छन् । सो सङ्ग्रहको मूल्य १२५ रुपियाँ रहेको छ ।