बाम गठबन्धन तोड्ने चलखेल बढ्यो ः प्रचण्ड
चितवन १४ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन तोड्नका लागि ठूलो कसरत भइरहेको भन्दै यो दुष्चक्रमा आफूहरू नफस्ने बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठन, चितवनको आठौँ जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले यसो बताएका हुन् ।
हाल कामचलाउ सरकारले देशलाई दूरगामी असर पार्ने निर्णयहरू गरिरहेको भन्दै उनले यसको प्रतिवाद सबै मिलेर गर्नुपर्ने बताए । अबको शिक्षा समाजवादउन्मुख हुनु आवश्यक रहेको भन्दै उनले देशलाई नयाँ युगमा लानका लागि शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । वाम गठबन्धनका नेताहरू शिक्षा क्षेत्रको परिवर्तनका लागि प्रतिबद्ध रहेको बताउँदै उनले अहिले पनि सम्बोधन भएन भने शिक्षा क्षेत्रको समस्या मात्रै नभई राष्ट्रकै समस्या विकराल हुने खतराप्रति सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसदहरू घनश्याम दाहाल अविनास, विजय सुवेदी, रामलाल महतो, नेपाल शिक्षक महासंघका उपमहासचिव पूर्णप्रसाद दवाडी, जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरे, संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्र भट्टराई, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेलगायतले बोलेका थिए ।
