शिक्षाका कानुन धमाधम बन्दै

भक्तपुर न्यूज

१५ पुष २०७४ ३:३४

शिक्षाका कानुन धमाधम बन्दै

काठमाडौं १५ पुस । सरकारले स्थानीय, प्रदेश र संघीय शिक्षा ऐन धमाधम बनाउन थालेको छ । शिक्षा मन्त्रालयका अनुसार संघीय शिक्षा ऐन र अधिकारमा आधारित शिक्षा ऐनको मस्यौदा एक साताभित्र सार्वजनिक गरिनेछ ।

स्थानीय र प्रदेश शिक्षा ऐनको मस्यौदा बनाउन शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय मन्त्रालयका एकरएक जना सहसचिव र शिक्षा विभागका महानिर्देशक रहेको समिति बनाइएको छ । ‘दुईवटा कानुन बनाउने काम अन्तिम चरणमा पुगेको छ । एक सातामा सार्वजनिक गर्छौं,’ सहसचिव हरिप्रसाद लम्सालले भने, ‘स्थानीय र प्रदेश कानुनको खाका बनाइरहेका छौं ।’

कानुन नबन्दा स्थानीय सरकारका प्रतिनिधिले संविधानले प्रत्याभूत गरेको अधिकार प्रयोग गर्न पाएका छैनन् । संविधानले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा शिक्षासम्बन्धी २३ वटा बुँदा समेटिएको छ । विद्यालय अनुमति, सञ्चालन व्यवस्थापन र नियमनको जिम्मेवारी, गाभिएका विद्यालयको सम्पत्ति व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामकरण लगायतका सम्पूर्ण अधिकार उक्त ऐनमा समेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *