सरकारी विद्यालयमा रंगीन पुस्तक

भक्तपुर न्यूज

२४ कार्तिक २०७४ ३:५२

सरकारी विद्यालयमा रंगीन पुस्तक

काठमाडौं २४ कार्तिक । सरकारले आगामी शैक्षिक सत्रदेखि सरकारी विद्यालयमा ५ कक्षसम्म रंगीन पाठ्यपुस्तक प्रयोगमा ल्याउने भएको छ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि ५ कक्षासम्मका पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी  तयार पारेर निर्णयका लागि शिक्षा मन्त्रालयमा पठाएको छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले देशभरका लाखौँ विद्यार्थीले आगामी शैक्षिक सत्रबाट रंगीन पाठ्यपुस्तक पढ्न पाउने बताए । उनका अनुसार कक्षा १ र २ को पिआरसी अघिल्लो तयार भएको थियो । यो वर्ष केन्द्रले कक्षा ३, ४ र ५ को पाठ्यपुस्तकको पिआरसी तयार गरिसकेको जानकारी दिए ।

यसअघि निजी विद्यालयमा अध्ययन गर्नेले चार कलरका पुस्तक पढ्न पाए पनि सरकारी विद्यालयका विद्यार्थी भने यस्तो सुविधा पाएका थिएनन् । चार कलरमा छपाइका लागि रकम विनियोजन भएको छ । रंगीन छपाइका किताब केही महँगो पर्छ ।

रंगीन पुस्तक छपाइका लागि जनक शिक्षा तथा निजी प्रेसले समेत जिम्मेवारी पाउनेछ । अघिल्लो वर्ष जनक शिक्षाले कक्षा १० सम्मका सबै कक्षाका पाठ्यपुस्तक छपाइ गर्न सक्ने र निजी प्रेसले ५ कक्षासम्मको पाठ्यपुस्तक छपाइ गर्न सक्ने निर्णय भएकोे थियो । ६ कक्षादेखि १० को पाठ्यपुस्तक छपाइ गरिसकेपछि जनक शिक्षालाई पनि तल्लो तहको पुस्तक छपाइ गर्न पिआरसी दिने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *