चन्दाले हैरान निजी विद्यालय

भक्तपुर न्यूज

२३ कार्तिक २०७४ ३:४७

चन्दाले हैरान निजी विद्यालय

काठमाडौं २३ कार्तिक । अहिले निजी विद्यालयका प्रिन्सिपल विद्यालय बस्नै छाडेका छन्। कारण हो चन्दा आतंक। मंसिर १० र २१ गते हुने आम निर्वाचनका लागि सहयोग माग्नेको घुइँचो लाग्न थालेपछि उनीहरू कार्यकक्ष छोडेर भाग्न थालेका छन्।

लिखितभन्दा पनि मोबाइल गरेर चन्दा माग्नेको संख्या बढेको निजी सञ्चालकको भनाइ छ। नाम बताउँदा आफूलाई पछि असर पर्ने डरले विद्यालयका सञ्चालकले आफूहरूले चन्दा दिने तर कसले चन्दा माग्यो भनेर नाम नबताउने जनाएका छन्।

विशेष गरी चन्दा माग्ने अग्रपंक्तिमा माओवादी केन्द्र देखिएको छ। त्यसपछि एमाले अनि नेपाली कांग्रेस। ‘पहिला पत्र पठाएरै चन्दा माग्थे, अहिले फोनबाट माग्न थालेका छन्।’ –निजी विद्यालयका एक सञ्चालकले नेपाल समाचारपत्रसंँग भने। ‘के गर्ने चन्दा नदिए कारबाही गर्लान् भन्ने डर, सकेजति दिन्छौं, उनीहरूलाई खुसी पाछौं।’ –ती सञ्चालकको भनाइ थियो।

एनप्याब्सनका पूर्वअध्यक्ष गीता राणाले आफू पनि निर्वाचनमा उठेका कारण आफ्नो विद्यालयमा त्यति धेरै चन्दा माग्न नआएको बताउनुहुन्छ। कैलाली–४ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएकी राणा ज्ञानेश्वरको ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल हुनुहुन्छ। उहाँ केही संगठनका नेताले भने रकम माग्न आएको बताउनहुन्छ। ‘हामीलाई त निर्वाचन नै नआइदिए होस्जस्तो लाग्न थालेको छ। सबै दल चन्दा माग्न आउने।’ –प्याब्सन, ललितपुरका अध्यक्ष शिव कार्कीले भन्नुभयो।

‘हुन पनि ५ लाख रुपियाँसम्म माग्न आएको सुनेको छु। अहिले त विद्यालय सञ्चालकहरू विद्यालयमा बस्नै छाडेका छन्।’ –उहाँ भन्नुहन्छ। विशेष गरी एमाले र माओवादी केन्द्रका कार्यकर्ता विभिन्न नेताको नाममा चन्दा माग्न आउन थालेका छन्। ‘हामी त हैरान भइसकेका छौं’, एक उमाविका सञ्चालकले नेपाल समाचारपत्रसँग भने– ‘कतिलाई चन्दा दिने, टाट पल्टिएलाजस्तो छ।’ राजनीतिक पार्टीले व्यापारिक घरानासँग रकम मागेको घटना त सामान्य हो, तर अहिले अकुत रकम कमाएको आरोपमा निजी शिक्षालयसँग चन्दा माग्नेको संख्या ह्वात्तै बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *