विद्यालयलाई एक दम्पतीले दिए सात रोपनी जग्गा
पर्वत, १२ कात्तिक । पर्वतको एक दम्पतीले जमिन खरिद गरेर विद्यालयलाई दान दिएका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं. ४ क्याङ्गमा किरण पुन र युगमाया पुन दम्पतीले सात रोपनी जमिन खरिद गरेर स्थानीय बाजुङ्ग आधारभूत बिद्यालयलाई दान दिएका हुन् ।
पुन दम्पतीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चामबहादुर पुन र प्रधानाध्यापक अमबहादुर पुनलाई सो जमिनको लालपूर्जा हस्तान्तरण गरेका छन् ।
विद्यालयलाई भवन निर्माण र खेल मैदानका लागि आवश्यक परेको जमिन आफूले खरिद गरेर विद्यालयलाई दान दिएको किरण पुनले बताए । पुनले सात रोपनी जमिन रु। ७ लाखमा गत वर्ष खरिद गरेका थिए ।
लामो समयदेखि रोजगारीका लागि बेल्जियममा बस्दै आएका पुन दम्पती कै पहलमा विद्यालयका लागि संकलन गरिएको रु दुई लाख ५० आर्थिक सहयोगको चेक पनि सोही कार्यक्रममा विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ ।
संकलित सहयोगलाई अक्षयकोषको रुपमा राखेर गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति बितरण गरिने विद्यालयका प्रधानाध्यापक अमबहादुर पुनले बताए ।