झापामा तीनदेखि कर्फ्यू जारी
झापा, १२ कार्तिक । बालकका हत्यारालाई कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनपछि उत्पन्न तनाव कम गर्न झापाको बिर्तामोडमा लगाइएको कर्फ्यू आज पनि जारी रहेको छ । तीन दिनदेखि लागेको कर्फ्यू नहट्दा सर्वसाधारणलाई समस्या भएको छ ।
अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि शुक्रवार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा कर्फ्यू लगाइएको थियो ।
शुक्रबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको मृत्यु भएपछि बिर्तामोडको मुक्तिचोकको आसपास दुई किलोमिटर क्षेत्रमा शुक्रबार दिउँसोदेखि नै कर्फ्यू लगाइएको थियो ।
हिजो प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख क्षतिपुर्ति दिने, घाइतेको उपचार गर्ने लगायतका आठ बुँदे निर्णय गरे पनि विर्तामोडमा लगाइएको कर्फ्यू भने जारी रहेको छ ।
कर्फ्यूका कारण विर्तामोड क्षेत्र बिहानैबाट सुनसान छ । आज पनि लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन भने विर्तामोड क्षेत्रका विद्यालय, क्याम्पस , उद्योगधन्दा, कलकारखाना बन्द रहेका छन् ।
