राष्ट्रपतीय निर्वाचनका क्रममा तीनको मृत्यु
एजेन्सी, १० कात्तिक । केन्यामा हिजो दोहोर्याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ । निर्वाचनको बहिष्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको प्रहरी र अस्पतालका स्रोतहरुले जनाएका छन् ।
मतदाताहरुलाई मतदान गर्न अवरोध गरेका विपक्षी दलका एक जना कार्यकर्ताको नैरोबीमा प्रहरीसँगको झडपमा परी मृत्यु भएको हो । एक जनाको मृत्यु भएको ड्रग्नेट अस्पतालका निर्देशक डिक्केन्स ओसीम्बाले पुष्टी गरेका छन् । एएफपीका एक जना फोटोग्राफरले पनि शव देखेको बताएका छन् ।
प्रहरी उच्च अधिकारीद्वारा प्रकाशित एक विज्ञप्तिमा पश्चिमी होमा बाइमा पनि गोली लागी एक जनाको मृत्यु भएको उल्लेख गरिएको छ । यसअघि १९ वर्षका एक व्यक्ति किसुमुमा मारिएको प्रहरी र अस्पताल स्रोतले जनाएको थियो । उनको शव पनि एएफपीका प्रतिनिधिले देखेका थिए ।
निर्वाचनका क्रममा गत अगस्त ८ देखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ४३ पुगेको छ। अधिकारवादीहरुले सरकारले भनेको भन्दा धेरै जना प्रहरीका तर्फबाट मारिएको बताएका छन्।
