बाम एकताले लोकतन्त्रमा चुनौती : देउवा

भक्तपुर न्यूज

३१ असोज २०७४ ९:३५

बाम एकताले लोकतन्त्रमा चुनौती : देउवा

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् ।
पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले भने, “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।”
प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले काँग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए । उनले भने, “पार्टी संकटमा परेको छ यसलाई जोगाउन नेवि संघ एक ढिक्का भएर अगाडि बढ्नुपर्छ” ।
उनले संसारबाट हराउँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा लागू हुननसक्ने बताए । “कम्युनिष्टहरुको कुनै आदर्श, मूल्य मान्यता र सिद्धान्त छैन,”– उनले भने ।
कार्यक्रममा पार्टीका महामन्त्री डा शशांक कोइराला, सूचना तथा सञ्चारमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य डा प्रकाशशरण महत, कृषिमन्त्री एवं पार्टी केन्द्रीय सदस्य रामकृष्ण यादव, नेवि संघका अध्यक्ष नैनसिंह महर तथा महामन्त्री कुन्दनराज काफ्ले लगायतले आसन्न निर्वाचनमा एक ढिक्का भएर अघि बढे काँग्रेसलाई कसैले हराउन नसक्ने बताए ।
देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई काँग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेवि संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *