त्रिविको ५१औँ दीक्षान्त समारोहमा १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।
दशरथ रंगशालामा जारी समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्की लगायत शैक्षिक जगतका अग्रज व्यक्तित्वहरूले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन्।
विश्वविद्यालयका अनुसार यस वर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्।
दीक्षान्त समारोहमा विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी छन्।
कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञ व्यक्तित्वहरूको उपस्थिति रहेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले त्रिभुवन विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई बधाई दिएका छन्।
