एपस्टीन प्रकरणः ट्रम्पको तस्बिर पुनः सार्वजनिक, कागजात लुकाइएको आरोप चर्कियो
काठमाडौं । अमेरिकाको न्याय मन्त्रालयले यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित कागजात क्रमशः सार्वजनिक गरिरहेका बेला पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जोडिएको रिपोर्ट नखुलाइएको भन्दै आलोचना चर्किएको छ। आलोचनापछि ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प देखिएको एउटा तस्बिर पुनः सार्वजनिक गरिएको छ।
न्याय मन्त्रालयले उक्त तस्बिरमा कुनै पनि पीडित समावेश नभएको स्पष्ट पारेको छ। यसअघि पीडितको पहिचान खुल्न सक्ने आशंकामा केही फाइल र तस्बिर अस्थायी रूपमा हटाइएका थिए। तर विस्तृत जाँचपछि जोखिम नदेखिएकाले तस्बिर जस्ताको तस्तै सार्वजनिक गरिएको मन्त्रालयको भनाइ छ।
तस्बिर हटाइएपछि डेमोक्रेट नेताहरूले ट्रम्पलाई जोगाउने प्रयास भएको आरोप लगाए पनि न्याय मन्त्रालयले राजनीतिक हस्तक्षेप अस्वीकार गरेको छ। हालसम्म करिब तीन लाख कागजात सार्वजनिक भए पनि पीडितका अन्तर्वार्ता र महत्वपूर्ण फैसला भने अझै सार्वजनिक नभएको भन्दै विपक्षीले ‘कभर–अप’ को आरोप लगाइरहेका छन्।
