ट्रम्पको नयाँ घोषणा-नोभेम्बर १ देखि अमेरिका आउने सबै ठूला ट्रकमा २५% भन्सार शुल्क लागू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर १ देखि अमेरिका आउने सबै मध्यम तथा ठूला ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लागू गर्ने घोषणा गरेका छन्।
ट्रम्पले सोमबार ट्रुथ सोसलमार्फत सार्वजनिक गरेका सन्देशमा कुनै देशको नाम नलिए पनि यो शुल्क ‘अन्य देशहरूबाट अमेरिका आउने’ ट्रकहरूमा लागु हुने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “नोभेम्बर १, २०२५ देखि अन्य देशहरूबाट अमेरिका आउने सबै मध्यम र ठूला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइनेछ।”
आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले अमेरिकी व्यापार नीतिमा ठूला परिवर्तन गरिरहेका छन्। यसअघि उनले सबै देशका वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क लागू गरेका थिए भने केहीमा अझ बढी कर लगाइएको छ।
हाल ट्रम्प प्रशासनले भारतमा कुल ५० प्रतिशत कर लागू गरेको छ। उनले पहिले २५ प्रतिशत कर लगाउने घोषणा गरे पनि पछि भारतले रूसबाट तेल खरिद गरेपछि थप २५ प्रतिशत कर बढाउने निर्णय गरेका थिए।
