एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी अनुबन्ध

भक्तपुर न्यूज

११ भदौ २०८२ ९:१५

एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी अनुबन्ध

फ्रेन्चाइज भलिबल टोली लुम्बिनी लाभाजले एभरेष्ट महिला भलिबल लिगका लागि रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई अनुबन्ध गरेको छ।

नयाँ टिमका रूपमा प्रतियोगितामा उतरण गर्न लागेको लुम्बिनी लाभाजले टोलीलाई बलियो बनाउन दुई विदेशी आउटसाइड हिटर भित्र्याएको हो। रसियन राष्ट्रिय लिगमा लामो अनुभव प्राप्त तिसिनाले बलियो स्पाइक, ब्लकिङ र डिफेन्समार्फत टिमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य रहिसकेकी कुलोभाले आफ्नो शक्तिशाली प्रहार र ऊर्जाशील खेलशैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास व्यक्त गरिएको छ।

यसअघि लाभाजले पहिलो विदेशी खेलाडीका रूपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनिक गरिसकेको छ। तीन विदेशी खेलाडीको आगमनसँगै टिम अझ बलियो बनेको क्लबको दाबी छ।

लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसहित कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुषा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई समावेश गरेको छ। यस्तै, ट्यालेन्ट हन्टमार्फत जानकी केसीलाई अनुबन्ध गरिएको हो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको संयोजनले लुम्बिनी लाभाज यस सिजनको लिगमा एक शक्तिशाली टिमका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। इन्फिनिटी ड्रीम्स प्रा. लि.को आयोजनामा हुने प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय