नेयमार पुनः बाहिर, चिली र बोलिभियाविरुद्धका खेल गुमाउने

भक्तपुर न्यूज

११ भदौ २०८२ ९:०२

नेयमार पुनः बाहिर, चिली र बोलिभियाविरुद्धका खेल गुमाउने

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले आउने हप्ताका चिली र बोलिभियाविरुद्धका अन्तिम दुई विश्वकप छनोट खेल गुमाउने भएका छन् । यससँगै उनको राष्ट्रिय टोलीमा अनुपस्थिति करिब दुई वर्ष पुग्ने भएको छ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सोमबार सार्वजनिक गरेको २३ सदस्यीय टोलीमा नेयमार परेका छैनन् । गत हप्ताको खेलमा खुट्टामा सामान्य मांसपेशी चोट लागेका कारण उनले यसपटक टोलीबाहिर राखिएको एन्सेलोटीले स्पष्ट पारे।

ब्राजिलले पहिले नै २०२६ को विश्वकपको टिकट सुनिश्चित गरिसकेको छ । तर, अक्टोबर २०२३ मा घुँडाको लिगामेन्ट च्यातिएपछि नेयमारले अहिलेसम्म राष्ट्रिय टोलीको जर्सी लगाएका छैनन्।

“यी अन्तिम दुई खेल निकै चुनौतीपूर्ण छन् । हामीलाई पूर्ण फिट खेलाडी चाहिन्छ,” एन्सेलोटीले भने, “नेयमारको क्षमतामा शंका छैन तर उनी १०० प्रतिशत फिट भएरै फर्किनुपर्छ ताकि टोलीलाई अधिकतम योगदान दिन सकून्।”

३३ वर्षीय नेयमार अहिले आफ्नो बाल्यकालको क्लब सान्तोसका लागि खेलिरहेका छन् । यो सिजन उनले १९ खेलमा ६ गोल गरेका छन् । तर, गत आइतबार भास्कोविरुद्धको ६–० को हारमा आँसु झार्दै मैदान छाड्नुले उनी अझै फिटनेस र मानसिक चुनौतीसँग जुधिरहेका संकेत गर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय