फ्रान्सले प्यालेस्टाइनी राज्यलाई मान्यता दिने घोषणा, सेप्टेम्बरमा राष्ट्रसंघमा औपचारिक प्रस्ताव

भक्तपुर न्यूज

९ साउन २०८२ ७:१७

फ्रान्सले प्यालेस्टाइनी राज्यलाई मान्यता दिने घोषणा, सेप्टेम्बरमा राष्ट्रसंघमा औपचारिक प्रस्ताव

काठमाडौं । फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई मान्यता दिने घोषणा गरेको छ। राष्ट्रपति एमानुएल म्याक्रोले सेप्टेम्बरमा न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको महासभामा यसबारे औपचारिक प्रस्ताव राख्ने जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले गाजामा राहत र युद्धविरामको आवश्यकता पनि औँल्याएका छन्।

म्याक्रोंले आफ्नो निर्णयलाई ऐतिहासिक प्रतिबद्धता भन्दै मध्यपूर्वमा स्थायी शान्तिका लागि आवश्यक कदमको रूपमा वर्णन गरेका छन्। “हामीलाई हमासको निःशस्त्रीकरणको ग्यारेन्टी र शान्तिका लागि इजरायलको स्पष्ट प्रतिबद्धता जरुरी छ,” उनले उल्लेख गरेका छन्।

फ्रान्सको निर्णयलाई प्यालेस्टाइनी पक्षले स्वागत गरेको छ। राष्ट्रपति म्याक्रोंले प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बासलाई पत्र पठाएर निर्णयबारे जानकारी गराएका छन्। अब्बासका सहायक हुसेन खल सेखले यसले अन्तर्राष्ट्रिय कानुन, मूल्य र मान्यताको सम्मान गर्दै प्यालेस्टिनी आत्मसम्मान र स्वतन्त्र राज्यको पक्षमा सहयोग पुर्‍याउने बताएका छन्।

यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने म्याक्रोंको घोषणालाई हमासको आतङ्कलाई पुरस्कृत गर्ने कदम भन्दै आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेका आक्रमणलाई स्मरण गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय