१० अर्बको विकास ऋणपत्र आज बिक्री, सरकारले आन्तरिक ऋण उठाउन तीव्रता दिने
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८५’ बिक्री गर्दैछ। तीन वर्षे अवधिको उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ भने यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमा हुनेछ।
ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ र २०८५ साउन ८ गते साँवा भुक्तानी गरिने कार्यालयले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन सकिनेछ।
बोलकबोल बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ प्रतिशत (८ अर्ब ५० करोड) र १५ प्रतिशत (१ अर्ब ५० करोड) छुट्याइएको छ। अप्रतिस्पर्धी बोलमा मागभन्दा कम आवेदन परेमा बाँकी रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिनेछ, र मागभन्दा बढी आएमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।
सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। साउनदेखि असोजसम्म एक खर्ब १३ अर्ब बराबरको ऋण उठाउने तालिका सार्वजनिक गरिएको छ।
त्यसमध्ये एक खर्ब १० अर्ब विकास ऋणपत्र, दुई अर्ब ५० करोड नागरिक बचतपत्र र ५० करोड वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ। कात्तिकदेखि पुससम्म ८५ अर्ब, माघदेखि चैतसम्म एक खर्ब ९ अर्ब र वैशाखदेखि असारसम्म ५५ अर्ब आन्तरिक ऋण उठाइने कार्ययोजना छ।
सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ, जसमा तीन खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट जुटाउने उल्लेख गरिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
