कोशी प्रदेश सरकारमा मन्त्री फेरबदलको तयारी, एक वर्षे समीक्षापछि कांग्रेस सक्रिय
काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेबीचको सहकार्यमा बनेको सरकारलाई एक वर्ष पुगेसँगै मन्त्रीपरिषद् पुनःगठनको तयारी भइरहेको छ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले कार्य सम्पादन कमजोर रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भएको बताएका छन्।
उनका अनुसार सहकार्यको प्रारम्भमै एक वर्षपछि मन्त्री परिवर्तन गर्ने सहमति भएको थियो। मन्त्रीहरूको प्रदर्शनमा नयाँपन नदेखिएको र जनअपेक्षा अनुसार काम गर्न नसकिएको भन्दै सरकारलाई प्रभावकारी बनाउने उद्देश्यले फेरबदल आवश्यक रहेको उनको भनाइ छ।
पर्यटनमन्त्री सदानन्द मण्डलको विषयमा पार्टीभित्र टिकाटिप्पणी सुरु भइसकेको र सचिवालयले प्रष्टिकरण दिएको भए पनि यसबारे पार्टी बैठकमा छलफल हुने जनाइएको छ।
कोशी कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार मण्डलले साउन ७ गते प्रदेश सभामा आफ्नो पक्ष राख्नेछन्। साथै, उनले केन्द्र सरकारमा हुने फेरबदलसँगै प्रदेशमा पनि असर पर्ने जनाए।
हाल कांग्रेसतर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्। एकै मन्त्रीले दुई मन्त्रालय (भौतिक पूर्वाधार विकास र स्वास्थ्य) सम्हालिरहेको अवस्थालाई पनि पार्टीले समीक्षाको दायरा भित्र राखेको छ।
