माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालत बबरमहलमा पतञ्जली जग्गा हिनामिनासम्बन्धी जग्गा प्रकरणमा बयान सुरु भएको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा उनी आज आफैँ अदालतमा हाजिर भएका हुन् ।
नेपालले आज बुधबार दिएकै निवेदनका आधारमा विशेष अदालतमा उनको बयान सुरु भएको छ । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएको हो । विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।
गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उहाँको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी भएको छ । विशेष अदालतले उनको बयान लिएपछि थुनछेक बहससमेत आजै तोकेको छ ।