इरानको तेलअभिव र हाइफा शहर मुख्य निशानामा

भक्तपुर न्यूज

१ असार २०८२ ७:४२

इरानको तेलअभिव र हाइफा शहर मुख्य निशानामा

काठमाडौं ।  इरानको उत्तर–पश्चिमी पूर्व अजरबैजान प्रान्तका गभर्नर बाहराम सर्मास्तले इजरायली आक्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार मृतकमध्ये ३० जना सैन्य कर्मचारी र एकजना रेड क्रेसन्ट सदस्य छन्। सर्मास्तका अनुसार अहिलेसम्म ५५ जना घाइते भएका छन्। यस्तै, इरानको सरकारी टेलिभिजनले राजधानी तेहरानमा रहेको एउटा भवनमा इजरायली आक्रमण हुँदा ६० जनाको मृत्यु, जसमध्ये २० जना बालबालिका रहेको दाबी गरेको छ। तर अहिलेसम्म इरानी सरकारबाट मृतकहरूको औपचारिक कूल संख्या सार्वजनिक गरिएको छैन।

त्यस्तै, रेड क्रेसन्टले उत्तर–पश्चिमी पश्चिम अजरबैजान प्रान्तमा एम्बुलेन्समाथिको आक्रमणमा २ जनाको मृत्यु भएको जनाएको छ। यसअघि, संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधिले शनिबार एक वक्तव्यमा भनेका थिए कि इजरायली हमलामा ७८ जनाको मृत्यु र ३२० भन्दा बढी घाइते भएका छन्।

तेलअभिव र हाइफा मुख्य निशाना : इरान

इरानले इजरायलविरुद्ध को अपरेसन ‘ट्रु प्रमिस ३’ को दोस्रो लहरको निशानामा तेलअभिव र हाइफा रहेको बताएको छ।  इरानी राज्य टेलिभिजनका अनुसार इजरायलविरुद्ध दोस्रो लहरको आक्रमण सुरु गरिएको हो । यो चरणमा १०० भन्दा बढी मिसाइल र ड्रोन प्रयोग गरिएको र तेलअभिव र हाइफा मुख्य निशाना रहेको जनाइएको छ।

“यो आक्रमणले इजरायली जनताको निद्रा बिगार्नेछ,” टेलिभिजनलाई उदृद्ध गर्दै बीबीसीले उल्लेख गरेको छ। यसअघि इजरायली रक्षा बल (आइडीएफ) ले इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ। रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।

यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ। स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको छ।

इरानी रक्षा मन्त्रालयमाथि आक्रमण

इरानी समाचार संस्था तास्नीमका अनुसार इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई लक्ष्य बनाएर आक्रमण गरेको छ।समाचार संस्थाका अनुसार, मुख्यालयको एउटा प्रशासनिक भवनमा सामान्य क्षति पुगेको छ भने अर्को नजिकै रहेको रक्षा मन्त्रालयकै अर्को भवनमा पनि प्रहार गरिएको हो।

दुई देशबिचको तनाव अझै बढ्दै गइरहेको छ । यसअघि इरानले आफ्नो दोस्रो लहरको आक्रमणमा इजरायलमाथि १०० भन्दा बढी मिसाइ आक्रमण गरेको थियो भने इजरायले इरान शाहरान तेल डिपोमा आक्रमण गरेको थियो । इजरायल र इरानबिच जारी आक्रमणको जोखिमका कारण सिरियाको नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

इरान लामो समयसम्मको युद्धको लागि पूर्ण रूपमा तयार

इरान लामो समयसम्मको युद्धको लागि पूर्ण रूपमा तयार रहेको एक इरानी सुरक्षा अधिकारीले बताएका  छन् । एक वरिष्ठ इरानी सुरक्षा अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीरासँग कुरा गर्दै, इरान लामो समयसम्मको युद्धका लागि पूर्ण रूपमा तयार रहेको र आक्रमणहरू अझ तीव्र बनाइने चेतावनी दिएका छन्।

“यो युद्ध इरानले सुरु गरेको होइन, तर यसलाई कसरी सकिने हो भन्ने निर्णय हामी नै गर्छौँ”, नाम नखुलाउने सर्तमा ती अधिकारीले भनेको अलजजीराले जनाएको छ। उनले यो सङ्घर्षलाई इजरायली प्रधानमन्त्री नेतन्याहूको युद्ध भन्दै आरोप लगाउँदै भने, “यसको अन्त्य इजरायली शासनको विनाशबाट हुनेछ।”

सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द

इजरायल र इरानबिच जारी आक्रमणको जोखिमका कारण सिरियाको नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। यसअघि जोर्डनले पनि अनिश्चितकालका लागि आफ्नो हवाई आकाश बन्द गर्ने घोषणा गरिसकेको छ। बढ्दो तनावकाबचि दुवै देशले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको समाचार संस्था अलजजीराले जनाएको छ । यी कदमहरू हालको सैन्य तनावको प्रत्यक्ष प्रभावका रूपमा हेरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *