विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई टाटा समूहले रु १ करोड दिने
काठमाडौं । एयर इन्डियाको मालिक टाटा समूहलेले विमान दुर्घटनाका पीडित प्रत्येक परिवारलाई रु १ करोड प्रदान गर्ने घोषणा गरेको छ।
दुर्घटनाग्रस्त विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो, जुन अहमदाबादबाट लन्डन ग्याटविकतर्फ उडिरहेको थियो। विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए।
यात्रुहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडेली थिए। अध्यक्ष एन चन्द्रशेखरनले समूहले घाइतेहरूको उपचार खर्च पनि बेहोर्ने र बीजे मेडिकलको छात्रावास पुनर्निर्माणमा सहयोग गर्ने बताए।
विमान दुर्घटनामा परेर यात्रु तथा चालक दलका सदस्य गरी २४१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अहमदाबाद प्रहरीका अनुसार एक बेलायती यात्रु जीवित फेला परेका छन् र विमान नजिकै दुर्घटनाग्रस्त भएकाले केही स्थानीय बासिन्दाको पनि मृत्यु भएको हुन सक्छ।
विमान मेघानी नगर इलाकाको बीजे मेडिकलको डाक्टर छात्रावासमा खसेको थियो।