अब परिवार दल पनि एमाले

भक्तपुर न्यूज

२१ असोज २०७४ ६:०४

अब परिवार दल पनि एमाले

काठमाडौं, २१ असोज। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन् । सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ ।राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच सहमति भएको हो ।

सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने छ भने संसद्भित्र एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्नेछन् । एमाले गठबन्धनमा रहेका सबै पार्टीका उम्मेदवारलाई विजयी गराउन परिवार दल केन्द्रदेखि प्रदेश तहसम्म क्रियाशील रहने सहमतिमा उल्लेख छ ।

परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको सहमति राष्ट्र र जनताको आवश्यकतानुसार भएको भन्दै राष्ट्रियता बलियो बनाउँदै मुलुकको तीव्र आर्थिक विकास गर्ने लक्ष्य रहेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा ओली र परिवार दलका अध्यक्ष ढकालले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *