नर्भिक अस्पताल र चिकित्सकविरुद्ध मुद्दा दायर

भक्तपुर न्यूज

२१ असोज २०७४ ५:५०

नर्भिक अस्पताल र चिकित्सकविरुद्ध मुद्दा दायर

किाठमाडौं, २१ असोज । चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले नर्भिक अस्पताल तथा चार चिकित्सकविरुद्ध क्षतिपूर्ति मुद्दा दायर गरेको छ । गत भदौ १३ मा काठमाडौं मैतीदेवीकी १६ महिने बालिका भिक्टोरिया आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

पीडितका तर्फबाट उपभोक्ता मञ्चले अस्पताल तथा चिकित्सकले दिनुपर्ने गरी ११ करोड २४ हजार ३ सय ४२ रूपैयाँ क्षतिपूर्ति माग गरिएको छ । मंगलबार बालिकाका पिता रमेश आचार्यका तर्फबाट मञ्चका अधिवक्तामार्फत मुद्दा दायर गरेका हुन् ।

बालिकाका पिता आचार्य क्षतिपूर्ति दिलाइदिने प्रक्रियाका लागि घटनाको विस्तृत विवरणसहित निवेदन दिएपछि मञ्चले क्षतिपूर्ति ऐनअनुसार कानुनी उपचारका लागि सहयोग गरेको मञ्चले जनाएको छ ।

नर्भिक अस्पताल तथा बालिकाको उपचारमा संलग्न चारजना चिकित्सक डा। बिनिता जोशी, डा। सुरेश लामिछाने, ऋतु लामिछाने र सुनिला शाक्यविरुद्ध मुद्दा दायर गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित विभिन्न विज्ञ सदस्यको सहभागितामा छानबिन अनुसन्धान समितिले घटनाको अध्ययन गरी फैसला गर्ने कानुनी व्यवस्था छ ।

मञ्चले उपभोक्ता संरक्षण ऐनअनुसार पीडितका तर्फबाट मुद्दा दायर गरेको जनाएको छ । २०५४ को दफा ९२२० मा पीडित उपभोक्ता सेवा वा वस्तु दिँदा कुनै उपभोक्तालाई अर्थिक, मानसिक, शारीरिक र भौतिक हानी नोक्सानी पुगेमा पीडित आफैं वा पीडितका तर्फबाट उपभोक्ता संस्थाले मुद्दा दर्ता गर्न सक्ने व्यवस्था छ ।

गत भदौ १३ गते बिहान साढे दस बजे रुघाखोकी तथा ज्वरोले ग्रस्त भिक्टोरियालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । त्यहाँ पुगेको दुई घन्टाभित्रै बालिकाको मृत्यु भएको घोषणा गरिएको थियो । छोरीको मृत्युलगत्तै पिता आचार्यले लापरबाहीका कारण मृत्यु भएको भन्दै विभिन्न निकायमा धाएका थिए । यही क्रममा उनले गत भदौ १५ मा महानगरीय प्रहरी परिसर, टेकुमा चार चिकित्सकविरुद्ध किटानी जाहेरी दिन पुगेका थिए ।

मृतक बालिका अमेरिकी नागरिक भएको, पिता आचार्य पनि अमेरिकामै कार्यरत भएको र छोरीको मृत्युपछि मानसिक तथा व्यावसायिक असर परेको बताएपछि क्षति विश्लेषण गरी ११ करोडभन्दा बढी रकम क्षतिपूर्ति माग गरिएको बानियाँले बताए ।

अमेरिकी नागरिकको हैसियत भएकी बालिका भिक्टोरियालाई प्रतिमहिना एक लाख नेपाली रूपैयाँबराबर पाउने गरेको, पिता आचार्यले अमेरिकामा मासिक ४ लाख नेपाली रूपैयाँ कमाउने गरेको, विभिन्न विश्वविद्यालयमा सल्लहाकारको भूमिका निर्वाह गर्दै आएको लगायतका सामाजिक हैसियत रहेकाले करोडमा क्षतिपूर्ति माग गर्नुपरेको बानियाँको भनाइ छ । छोरीको मृत्यु लापरबाहीकै कारणले भएको भन्दै पिता आचार्यले अस्पतालको लापरबाहीका कारण आफूले जस्तो पीडा अरू नेपालीले भोग्न नपरोस् भन्नका लागि यी मुद्दा दायर गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *