माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
काठमाडौं । संसदीय समितिका सभापतिमाथि सांसदले माइक प्रहार गरेकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि बैठकका क्रममा आक्रोशित हुँदै माइक र नेमप्लेट प्रहार गरेकी हुन् ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबारको बैठकमा कुसारी ढिला उपस्थित भएकी थिइन् । सभापति साहले ढिला आएको र अनुमति नलिइ बोल्न थालेको भनेपछि दुबैबीच भनाभन भएको थियो। विवाद चर्किएपछि कुसारीले माइक र नेमप्लेट प्रहार गरेकी हुन्।
कुसारीले सभापति साहमाथि अनुगमनमा महिला सांसदलाई उपेक्षा गर्ने, आफै संयोजक भएर जानुका साथै आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुमाउने, खर्च विवरणमा पारदर्शिता नराख्ने आरोप लगाइन् । उनले सभापति साहप्रति समितिका धेरै सदस्य असन्तुष्ट रहेको बताउँदै या त आफू समितिबाट बाहिरिने या साहलाई हटाउनुपर्ने माग राखेकी छन्।
सभापति साहले भने कुसारी बैठक टुंगिन लाग्दा अनावश्यक रूपमा आक्रोशित बनेको प्रतिक्रिया दिएका छन्।