बाम एकताले काँग्रेस बिचलित हुनु पर्दैन : नेता महत
भक्तपुर, १९ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बाम एकताले काँग्रेस बिचलित हुनु नपर्ने बताएका छन् ।
नेपाली काँग्रेस सूर्यबिनायक नगर कमिटिले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता महतले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकताको कुरा सत्ता प्राप्तीका लागि मात्र भएको बताए ।
उनले राजनीतिक क्षेत्रमा एमाले सबैतिरबाट एक्लिदै गएपछि बाध्य भएर एमाले अध्यक्ष ओलीले गठबन्धन र एकताको नाममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुरामलाई फसाएको बताए ।
विश्व मै फेल भएको साम्यवादको नेपालमा पनि कुनै भविष्य नभएको बताउँदै उनले बाम एकता चुनावसम्म मात्र रहने र त्यसपछि नरहने ठोकुवा गरे ।
उनले बर्तमान सरकारले नै आसन्न निर्वाचनलाई सफलतापुर्बक सम्पन्न गरी संबिधान कार्यान्वयनलाई पूर्णता दिने बताए ।