मौसम पूर्वानुमान : आंशिक बदली रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि देशको मौसम पूर्वानुमान जारी गरेको छ। पूर्वानुमान अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै बाँकी भू-भागका एक-दुई स्थानमा पनि यस्तो वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राति कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।