एमाले र माओवादीबीच चुनावी तालमेल, पार्टी एकीकरणको सहमति

भक्तपुर न्यूज

१७ असोज २०७४ ३:३१

एमाले र माओवादीबीच चुनावी तालमेल, पार्टी एकीकरणको सहमति

काठमाडौं, १७ असोज । नेपाली राजनीतिमा नाटकीय रुपले एउटा घटना विकास भएको छ, जसले नेपाली राजनीतिलाई लामो समय तरंगित गर्नेछ— प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्र आगामी प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्ततस् पार्टी एकता गर्ने सहमतिमा पुगेका छन्।

आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमति भएको छ। दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने छन्। चुनावपछि दुवै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ। कुन पार्टीले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने टुंगो छलफलपछि लगाउने सहमति भएको छ।

दुवै पार्टीका नेताले माथिका सहमतिको पुष्टि गरेका छन्। सहमतिको मस्यौदा पनि तयार भैसकेको र सम्भवत म‌ंगलबार
(आज) नै यसको घोषणा हुने नेताहरुले बताए। चुनावी तालमेल र पार्टी एकीकरणमा मुख्य चुनौती हुने नेतृत्वको विषय पनि दुवै पार्टीले टुंग्याएका छन्।

सरकार बनाउने अवसर आएको खण्डमा दुवै पार्टीका नेताले आलोपालो गर्ने सहमति भएको र यो विषय सहमतिपत्रमै लेखिएको एक एमाले नेताले सेतोपाटीलाई बताए। माओवादी केन्द्रका नेताहरुले भने सरकार र एकीकृत पार्टीको नेतृत्व नै आलोपालो गर्ने सहमति भएको र त्यही भाषा सहमतिको मस्यौदामा परेको दाबी गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब एक सातादेखि धेरैपटक एक्लाएक्लै भएका छलफलपछि यी विषयमा सहमति जुटेको हो। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार बैठक हुँदैछ। उक्त बैठकपछि मंगलबार नै सहमति सार्वजनिक हुने सम्भावना छ।

एमाले सचिव प्रदीप ज्ञवालीले चुनावी तालमेललाई केन्द्रमा राखेर छलफल जारी रहेको बताए। ‘अहिलेलाई चुनावी तालमेलमा केन्द्रित रहेर छलफल भइरहेको छ,’ ज्ञवालीले सोमबार राति सेतोपाटीसँग भने, ‘यो वामपन्थी गठवन्धनका आधारमा चुनाव सम्पन्न भए भोलि स्वाभाविक रूपमा पार्टीलाई एकीकरणतर्फ लैजान बल पुर्याउँछ भन्ने हाम्रो विश्वास छ।’

माओवादी केन्द्र तर्फबाट दुवै पार्टीबीच सहमति बनाउन मुख्य भूमिका खेलिरहेका नारायणकाजी श्रेष्ठले ‘कम्युनिस्ट पार्टीहरूबीच चुनावी तालमेल र ध्रुवीकरण तथा एकीकरणबारे गम्भीर छलफल भइरहेको’ जानकारी दिए।

‘छलफल सकारात्मक रूपमा अघि बढेको छ,’ उनले भने, ‘यसलाई टुंगोमा पुर्याउन पार्टीले अध्यक्ष पुष्पकमल दाहाल, म र रामबहादुर थापाजीको वार्ता टोली गठन गरेको छ। आज नै यसबारे हामी एमाले नेतृत्वसँग थप छलफल गर्दैछौं।’ एमाले र माओवादीबीच सहमति अघि बढेपछि पनि तत्काल यो सरकार नफेर्ने सहमति भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय