डाक्टरहरुलाई स्वास्थ्यमन्त्रीको आग्रह
महोत्तरी १३ असोज । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आन्दोलनरत चिकित्सकका माग पूरा गर्न सरकार तयार रहेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दशैं जस्तो महत्वपूर्ण चाडमा नागरिकका लागि स्वास्थ्य सेवा अतिआवश्यक रहेको भन्दै चिकित्सकका माग पूरा गर्न आफू र सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री पोखरेलले आन्दोलनको कार्यक्रम फिर्ता लिएर वार्ता र संवादमा आउन समेत आग्रह गरे ।
मन्त्रिपरिषदको निर्णय र चिकित्सक संघ दुवैलाई सम्बोधन हुनेगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ र त्यसको आधारमा बनेको २०६९ को नियमावली परिस्कृत गर्न सरकार तयार रहेको उनले जानकारी गराए । चिकित्सक र स्वास्थ्यकर्मीहरु माथीको आक्रमणको घटनाले मनोबल घटाउने काम भैरहेकाले सरकार सुरक्षा प्रदान गर्न तयार रहेको उनले स्पष्ट पारे ।