मनाङको तिमाङ जंगलमा लागेको आगो अझै आएन नियन्त्रणमा
काठमाडौं । मनाङमा माघ १८ गतेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा १० दिनदेखि लागेको आगो आजसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
तिमाङ जंगलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।
कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको बताउँदै उनले जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिएको बताए । उनले डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जंगलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौंरीका चरन क्षेत्र नष्ट भएका बताए ।
यसअघि २०७७ मंसिरमा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो ।