अवैध लागूऔषध सहित बर्दिया र दाङबाट चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित बर्दिया र दाङबाट चार जनालाई पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ साघुनघारीबाट प्रहरीले ब्राउनसुगर ४ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ नयाँबस्ती बस्ने २४ वर्षीय शिव गौतम र २४ वर्षीय सुमन थारू रहेका छन् । प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१३ सुनगाभा टोलबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर ८ सय ७० मिलिग्राम, नगद ४ हजार ५ सय रूपैयाँ र २ थान मोबाइल सहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका–३ मसुरिया घर भई घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्ने २२ वर्षीय चिन्तन केसी र सोही उपमहानगरपालिका–१३ डुम्मरगाउँ बस्ने १९ वर्षीय मनोज बुढामगर रहेका छन् ।
प्रहरीले चिन्तनको साथबाट १ सय ९० मिलिग्राम र मनोजको साथबाट ६ सय ८० मिलिग्राम उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको लु. १८ प ३७७० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।