महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा आज महाकुम्भ मेलामा भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।
ठूलो भीडमा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष महोत्सव स्थलमा जाने सडकहरूमा सयौं क्यामेरा पोलहरूमा राखिएको र ओभरहेड ड्रोनहरूको फ्लिट जडान गरेको छ । डेढ महिनामा उत्तरी शहर प्रयागराजमा ४० करोडभन्दा बढी मानिसहरू पुग्ने अपेक्षा गरिएको छ । सन् १९५४ को कुम्भ मेलाको समयमा कम्तिमा ४ सय मानिसको ज्यान गएको थियो । त्यसैगरी सन् २०१३ मा ३६ जनाको ज्यान गएको थियो ।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् ।