संविधान पक्षधरकै जीत, सबै दलको रणनीति असफल
काठमाडौं, ९ असोज । तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामले संविधान निर्माण र गणतान्त्रिक आन्दोलनका सहयात्री दलहरूको पक्षमा दुई तिहाइभन्दा बढी जनमत रहेको देखाएको छ। गणतान्त्रिक आन्दोलन र संविधान निर्माणका सहयात्री दलले ८८ प्रतिशतभन्दा बढी स्थान जितेका छन्।
तीन चरणमा सम्पन्न निर्वाचनअन्तर्गत संविधान पक्षधर दलले कुल ७५३ मध्ये ६६४ स्थानीय तहमा जित हासिल गरेका हुन्। पहिलो र दोस्रो चरण निर्वाचन भएका प्रदेश १, ३, ४, ५, ६ र ७ को परिणाम यसअघि नै आइसकेको छ भने तेस्रो चरणमा असोज २ गते निर्वाचन भएका प्रदेश २ का जम्मा ८ तहको परिणाम आउन बाँकी छ।
गणतन्त्रपछिको पहिलो स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमाले एक्लैले सबैभन्दा बढी २९३ स्थानीय तहमा जित हासिल गरेको छ भने सत्ताको नेतृत्व गरेको कांग्रेस एमालेभन्दा झन्डै ३० स्थानले पछाडि परेको छ। पहिलो र दोस्रो निर्वाचनमा दोस्रो बनेको उसले तेस्रो चरणमा भने झिनो बहुमत पाएको छ। प्रदेश २ को निर्वाचनबाट पहिलो र दोस्रो चरणको घाटा पूर्ति गर्ने उसको रणनीति असफल भएको छ। जबकि उसले प्रदेश २ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आएको थियो।
राष्ट्रवादी आन्दोलनको कडीका रूपमा मधेसमा बहुमत ल्याएर नयाँ रेकर्ड तोड्ने लक्ष्यसहित प्रदेश २ को चुनावमा होमिएको एमाले पाँचौं स्थानमा खुम्चिएको छ भने माओवादी, संघीय समाजवादी फोरम नेपाल र राजपाको संविधान संशोधन र मधेस आन्दोलन पक्षधर जनमतलाई पक्षमा पार्दै पहिलो हुने रणनीति असफल भएको छ। यद्यपि, सत्ताको दोस्रो घटक माओवादी केन्द्र र फोरम नेपाललाई प्रदेश २ को निर्वाचनले सबैभन्दा बढी फाइदा पुगेको देखिएको छ।